टेक्सासमा कन्सुलर कार्यलय राख्न माग गर्दै प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र

काठमाडौं / अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा नेपाल सरकारको कन्सुलर कार्यलय स्थापनाको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाइएको छ। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले सहितको टोलीले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेटि ज्ञापन पत्र बुझाएको हो। टेक्सासमा नेपालीको संख्या बढे सँगै कन्सुलर कार्यलयको आवश्यकता भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

‘ड्यालस शहर अमेरिकामा नै सबै भन्दा बढी नेपाली-भाषी भएको एक प्रमुख शहर हो । यस शहरमा नेपालबाट दैनिक जसो विधार्थी, इमिग्रेसन तथा विशेष क्षमता भएका व्यक्तीले पाउने भिसा लगाएत अन्य शिलशिलामा आउनेहरुको जनसंख्याको क्रम बढ्दो छ ।’ ज्ञापन पत्रमा भनिएको छ, ‘पारिवारिक भिसा मार्फत दैनिक सयौ आमा-बुबा र परिवारका सदस्यहरु यहाँ आउने क्रम जारि रहेको ब्यहोरा अवगत गराउदै यी तथ्यहरुलाई मध्येनजर गर्दा यस राज्यमा हरेक दिन भिसा, पासपोर्ट लगाएतका इमिग्रेसनसंग सम्बन्धित समस्या समाधानका लागी हाम्रो साझा अनुरोध भएको ब्यहोरा अनुरोध गर्दछौ ।’

ज्ञापन पत्रको पूर्ण पाठ

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय,

सिंहदरवार, काठमाण्डौ, नेपाल

विषय : – संयुक्त राज्य अमेरिका स्थित टेक्सासको ड्यालस शहरमा कन्सुलर कार्यलय राख्ने सम्बन्धमा ।

महोदय , उपरोक्त सम्बन्धमा नेपाली समाज टेक्सास (Nepalese Society of Texas – NST ) को मिति २०२२ मे महिनाको २४ तारिखमा बसेको पुर्ण बैठकले पराराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यलय मार्फत नेपाल सरकारसंग अमेरिका स्थित टेक्सास राज्यको ड्यालस शहरमा नेपाल सरकारको कन्सुलर कार्यलय स्थापना गर्ने सम्बन्धमा औपचारिक पत्रचार गर्ने निर्णय बमोजिम यो पत्र औपचारिक रुपमा पेश गर्न गएको ब्यहोरा अनुरोध गर्न चाहन्छौ ।

नेपाली समाज, टेक्सास सन १९९८ मा स्थापना भई हालसम्म अमेरीकामा रहेका नेपाली समुदायहरुलाई सेवा प्रदान गर्दै आईरहेको अग्रणी सामाजिक संस्था हो। यस संस्थाले चाहे प्रवासमा नेपाली भाषाको संरक्षण गर्न नेपाली पाठशाला संञ्चालन गरेर होस वा नेपाली चाडपर्वहरु सामुहिक तरिकाले मनाएर होस वा नेपाली परम्परागत मृत्यू कर्म, वा आपत-विपद आदीमा सहयोगी बनेर मर्दा र पर्दाको रुपमा परिचित सामाजिक संस्था हो । साथै नेपालमा आपत-विपद पर्दा (भुकम्प बाढीपैरौ, कोभिड आदी) आर्थिक सहयोग तथा मानवीय सामाजिक साहयताका लागिका सदैव मातृभूमी नेपाललाई केन्द्रमा राखेर काम गर्ने यस नेपाली समाज टेक्सासले गत-बिगतका वर्षमा सदैव अग्र-पङ्तीमा रहेर सहयोग संङ्कलन तथा राहात वितरण गर्दै आएको कुरा समेत यहाँहरुलाई जानकारी गराउन चाहन्छौ ।

अमेरिकाको टेक्सास राज्य नेपालीहरुको अत्यधिक जनसंख्या भएको राज्य हो । विगतका केही वर्ष देखि टेक्सासमा बढ्दो नेपालीहरुको जनसंख्यालाई मध्येनजर गरेर हालका वर्षमा अमेरिका स्थित नेपाली राजदुतावासले समेत टेक्सासको ड्यालस शहरमा नेपाली कन्सुलर कार्यलय राख्न सख्त जरुरी भएको जनाउँदै आएको छ । हालको तथ्याङ्क अनुसार करिव एक लाखको हाराहारीमा नेपालीहरु यस शहरमा बसोबास गरिरहेको अनुमान गरिएको छ (औपचारिक आँकडा भने आज सम्म निकालिएको छैन ) ।

टेक्सास राज्यमा तिन ठुला शहरहरु छन । जसमा ड्यालस, अस्टिन, हियुस्टन पर्दछन भने यसका नजिक ओक्लोहमा, आर्कान्सास, लुजियाना न्यूमेक्सिको आदी राज्यहरु पर्दछन । यी सबै शहर र राज्यमा नेपालीको संङख्या हरेक वर्ष बढ्दो छ । त्यसमा पनि ड्यालस शहर अमेरिकामा नै सबै भन्दा बढी नेपाली-भाषी भएको एक प्रमुख शहर हो । यस शहरमा नेपालबाट दैनिक जसो विधार्थी, इमिग्रेसन तथा विशेष क्षमता भएका व्यक्तीले पाउने भिसा लगाएत अन्य शिलशिलामा आउनेहरुको जनसंख्याको क्रम बढ्दो छ । पारिवारिक भिसा मार्फत दैनिक सयौ आमा-बुबा र परिवारका सदस्यहरु यहाँ आउने क्रम जारि रहेको ब्यहोरा अवगत गराउदै यी तथ्यहरुलाई मध्येनजर गर्दा यस राज्यमा हरेक दिन भिसा, पासपोर्ट लगाएतका इमिग्रेसनसंग सम्बन्धित समस्या समाधानका लागी हाम्रो साझा अनुरोध भएको ब्यहोरा अनुरोध गर्दछौ ।

टेक्सासको ड्यालस शहरमा ठुलो संख्यामा नेपालीहरु बिभिन्न व्यवसायमा आबद्ध छन । यस शहरमा आईटीसंग सम्बन्धित व्यवसाय देखि साना तथा ठुला कर्पोरेट लेभलका व्यवसाय नेपालीहरुले संचालन गरि रहेका छन । टेक्सासमा रहेका नेपाली समुदायले मातृभूमी नेपालको दुखःसुख एवम् आपत-विपद देखि देशको आर्थिक अवस्थामा सकरात्मक टेवा पुऱ्याउने हेतुले अग्रणी भूमिक निभाउदै आइरहेका छन । यस अर्थमा नेपालमा लगानी मित्र्याउन डासलमा रहेका नेपालीहरुको ठुलो योगदान रहेको देखिन्छ । यसका अलावा देशले गैर-आवासिय नेपालीलाई सहयोग पुऱ्याउने थप निती लिने हो भने यस शहरबाट अझ ठुलो रकम लगानीका रुपमा नेपाल भित्रिने सम्भावना भएको ब्यहोरा समेत यहाँहरुमा जानकारी गराउन चाहन्छौ ।

तसर्थ, अमेरीकाको यस टेक्सास राज्य लगाएत यसको नजिकका अन्य राज्यमा दैनिक रुपमा आउन सक्ने इमिग्रेसन समस्या, नेपालमा लगानी प्रबर्द्धन, नेपालको पर्यटकिय गन्तब्य बिस्तार एवम् अमेरीकन र प्रवासीहरुलाई नेपालसंग जोड्न र नयाँ पुस्ताका नेपाली यूवाहरुलाई छिटो छरितो नेपाली सेवा प्रदान गर्न नेपाल सरकारले अमेरिका स्थित टेक्सासको ड्यालस शहरमा कार्यालय स्थापना गरि नेपाली तथा अन्य जनसमूदायलाई सेवा उपलब्ध गराई समस्या समधानमा विषेश ध्यान दिन कन्सुलर कार्यालयको स्थापनाको निमित्त नेपाल सरकारसंग अनुरोध गर्दछौ । धन्यवाद ।

भवदीय

अध्यक्ष – राजेन्द्र वाग्ले,  सचिव – सन्देश उप्रेति, नेपाली समाज टेक्सास

बोधार्थः नेपाल सरकार परराष्ट्र मन्त्रालय- आवस्यक पहल गरि दिन हुन । नेपाल सरकार अर्थ मन्त्रालय- आवस्यक पहल गरि दिन हुन ।

Source Samaj Times

https://samajtimes.com/2023/06/20/40091/?fbclid=IwAR1W9mDCe2-p94MkBcBBlXwfui5atBEy2laQeC-zL_QeC220fYuoX5HmZv8