नेपाली समाज टेक्ससको समरक्याम्प समापन

हिमालयखवर संवाददाता २२ श्रावण २०८०, सोमबार

टेक्सस(अमेरिका)-  ग्लोबल नेपाली पाठशाला, नेपाली समाज टेक्सस र नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रद्वारा अायोजित समर क्याम्पको नेपाली मन्दिर युलेसमा शनिबार विशेष कार्यक्रम सहित समापन भएको छ ।पशुपतिनाथ तथा बुद्ध मन्दिरको सभाकक्षमा एक सातासम्म संचालन गरिएको शिविरबाट ड्यालस फोर्थवर्थ मेट्रोप्लेक्सका नेपाली समुदायका १ सय ७४ बालबालिका एवम् ५४ जना बालबालिकाहरू र  स्वयमसेवकहरुले प्रत्यक्ष लाभ लिएका थिए ।

डा. चिन्तामणी नाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न यस वर्षको समर क्याम्पको समापन कार्यक्रममा बालबालिकाहरुले समर क्याम्पबाट छोटो समयमा सिकेका भजन, कविता, गीत एवम् नृत्यबाट अविभावकहरुलाइ मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा क्याम्पका प्रमुख भोलिन्टियर तेजस्वी थापाले सबै स्वयमसेवीलाई धन्यवाद दिदै सबै भाईबहिनीहरुलाई क्याम्पबाट सिकेका ज्ञानहरु उपयोग गर्ने वाचापत्र सुनाएका थिए । यसैगरी समर क्याम्पका प्रशिक्षक अन्तराष्ट्रिय आध्यात्मिक गुरु डा. चिन्तामणीनाथ योगीले समर क्याम्पले बालबालिकाहरुलाई नेपालसँग जोड्न सफल भएको अनुभव सुनाउदै प्रवासी नेपालीहरुको एकतामा जोड दिएका थिए ।कार्यक्रममा बोल्दै डा. योगीले ‘ड्यालसमा हामीले ठूलो मन्दिर बनाउन सफल भएका छौ । तर आज पनि खड्केको कुरा के हामीले तमाम नेपालीहरुको मन जोड्न सकेका छौ ?  के नयाँ पुस्तालाई यस अभियानमा जोड्न सकेका छौ ? प्रवासमा हामीले सम्पती र जोड्यौ तर सन्ततीलाई बचाउन सकेका छौ ? कि छैनौ ? सन्तति नरहे सम्पतीको के काम ?’ भन्ने बिभिन्न प्रश्न गर्दै समर क्याम्पको छोटो अवधिले नानीबाबुहरुलाई केही मात्रामा भए पनि धार्मिक, साँस्कृतिक, अध्यात्मिक ज्ञान बाँड्न सफल भएको तर यसको निरन्तरता हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका ट्रस्टीका अध्यक्ष रमेश पोखरेल र मन्दिरका मुल पुजारी मेघराज निरौलाले प्रवासमा हुर्की रहेका पुस्ताहरुलाई नेपालसँग जोड्नका लागि साँस्कृतिक तथा अध्यात्मिक शिविरको आबश्यकता र बढ्दो लोकप्रियताका बारेमा चर्चा गर्नु भएको थियो ।नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा ग्लोवल नेपाली स्कुलका संयोजक भोजबहादुर बलायरको सन्चालनमा सम्पन्न कार्यक्रममा पाठशालाका प्रिन्सिपल पशुपति तिम्सिनाले स्वागत तथा सबै स्वयमसेवी संघ संस्थालाई धन्यवाद दिएका थिए ।कार्यक्रमको अन्त्यमा नेपाली समाज टेक्ससका अध्यक्ष वाग्लेले सबैलाई धन्यवाद ज्ञापन सहित आगामी दिनमा समर क्याम्प अझै स्तरीय बनाउदै लैजाने प्रतिबद्धता सहित कार्यक्रमबाट बचेको रकम मन्दिरको साउण्ड सिष्टम निर्माणमा उपयोग गर्ने घोषणा गरेका थिए ।

Source HimalayKhabar.com. https://himalayakhabar.com/detail/1755290506047688.html?fbclid=IwAR3Rqf6meTFkqosrCCWwpDeQ3tNJMfixHkizTlzTfzgE40O7h5y1NOYecqY