ड्यालस (अमेरिका) ।

नेपाली समाज टेक्ससको रजत जयन्तिका अवसरमा शनिबार गजल यात्रा समेतको आयोजनामा गजल महफिल आयोजना भयो ।

कार्यक्रममा टेक्ससका स्थानीय चर्चित गजलकारहरुले झण्डै अढाई घण्टासम्म श्रोताहरुलाई आफ्ना गजलहरुले मन्त्रमुग्ध बनाएका थिए । पछिल्लो समयमा स्थानीय गजलकारहरुले श्रृङ्गारिक तथा समसामयीक गजलबाट श्रोता तथा दर्शकहरुलाई निकै मोहित बनाउँदै आएका छन् ।


शनिबारको कार्यक्रममा गजलकारहरुले प्रवास र मातृभूभिलाई जोडेर रचना गरिएका गजलहरु प्रस्तुत गर्दा दर्शकहरुले तालीको गड्गडाहटले सम्मान गरेका थिए ।
‘यतिपर पुग्ला यो बाटो सोचेकै थिइन
र होला पराई आफ्नै माटो सोचेकै थिइन’

ह्युस्टनदेखि आएका गजलकार सतिश त्रिपाठीले गजलको यो सेर वाचन गरिरहँदा सबैलाई आफ्नै व्यथा जस्तो महसुस भएको थियो । पेशाले इन्जिनियर त्रिपाठीले निकै चोटिलो गजलकारको परिचय बनाएका छन् ।
अर्का युवा गजलकार बासुपुष्पा अधिकारीले विदेशयात्रा र बसोबासको व्यथालाई यसरी प्रस्तुत गरे–
‘पासपोर्ट बोकेर हातमा
गुन्द्रुक बोकेर झोलामा
चढियो जहाज प्रियाको
ढुकढुकी बोकेर झोलामा ।’

उनले क्रान्तिका नाममा किताब मिल्काएर बन्दुक बोकाउने घटना प्रति समेत गजलको माध्यमबाट तिखो प्रहार गरे ।
ड्यालसकै अर्का चर्चित गजलकार पवन लामिछानेले गजलको माध्यमबाट तिखो प्रहार गरे–
‘एउटामा परदेश छ, अर्कोमा आमा र देश
दिललाई सोधेर एउटा टोकन तान्न सक्नुहुन्छ ?’

चर्चित साहित्यकार राधाकृष्ण काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा चर्चित गजलकारहरु रोहित राना, सरु काली, दिलु चापागाई, कृष्ण कुसुमले आप्mना गजल वाचन गरेर श्रोताहरुलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा गजलकार कृष्ण कुसुमको गजलले दर्शकहरुलाई अलिक गंभीर बनाएको थियो ।
‘जिन्दगी छ रिनै रिनमा, यत्ति बुझिराख्नु
तिर्छु तर कुनै दिनमा यत्ति बुझिराख्नु
साथीभाई नातागोता, समाज भन्नुमात्र
कोही हुन्नन् कठिनमा, यत्ति बुझिराख्नु ।’

Source: HimalyaKhabar

https://himalayakhabar.com/detail/1755290506050283.html