२०८१ बैशाख १७, ०३:५६

ड्यालस, टेक्सास
नेपाली समाज टेक्सासद्वारा आयोजना हुन लागेको बृहत बनभोज कार्यक्रमको लागि शनिबार बेलुकीसम्म करिब १ हजार ८ सय जना नेपालीहरुले परिवार सहित सहभागि हुने भन्दै नाम दर्ता गराई सकेका थिए । तर आईतबार बिहानै मौसममा एकाएक परिबर्तन भएपछि ड्यालस फोर्टवर्थका नेपाली समुदायलाई झस्कायो । बिस्तारै मौसममा सुधार भएपछि दिउसो ड्यालस फोर्टवर्थ क्षेत्रको प्रमुख पर्यटकीय स्थल ग्रेपभाईन पार्कमा खचाखच भरिन थाल्यो । आईतबार दिनभर नेपालीहरुले सँगै बसेर गीत गाए, नाचे, रमाईलो गर्दै बनभोजमा सहभागि भए ।
नेपाली समाज टेक्सासले हरेक बर्ष नेपाली नयाँ बर्षको अवसर पारेर बनभोज कार्यक्रम आयोजना गर्दै आएको छ । तर यस बर्षको बनभोज कार्यक्रम हरेक दृष्टिकोणले ऐतिहासिक र भब्य भयो । नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले भने, हामीले बनभोज कार्यक्रमलाई व्यवस्थित गर्न सहभागिहरुको नाम गर्दा गरेका थियौं । दर्ता गरेका व्यक्तिहरु र उनिहरुका परिवारहरु समेतको सँख्या जोड्दा ४ हजार बढीको बनभोज कार्यक्रममा सहभागिता रह्यो ।
बृहत बनभोज कार्यक्रमको अवसरमा प्रस्तुत गरिएको पन्चे बाजाले कार्यक्रमलाई रोचक र आकर्षक बनाएको थियो । प्रवासमा नेपाली सँस्कृति (पन्चे बाजा) लाई प्रबद्र्धन गर्न उल्लेख्य भूमिका निर्बाह गरेको भन्दै नेपलिज म्युजिकल एण्ड कल्चरल गु्रप टेक्सासलाई आयोजकको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुको लागि सामग्री सहित खेल्ने स्थानको व्यवस्था गरिएको थियो । बनभोज कार्यक्रममा ग्लोवल नेपाली पाठशालाका बिद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । लोक गायक छबिराज सुनार, सामाजिक अभियन्ता बेद बस्नेत लगायत बिभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । बनभोज कार्यक्रममा नेपालीपन झल्किएको थियो । ग्रेपभाईन पार्क सँगीतमय भएको थियो ।

भौतिक रुपमा जहाँ भएपनि नेपाली समुदायले नयाँ बर्ष लगायत नेपाली चाडपर्बहरु मौलिक रुपमा उत्साहपूर्बक मनाउने गर्दछन । नेपालीहरुको कामको व्यस्ततालाई हेरेर शनिबार, आईतबार बिदाको दिन चाडपर्बहरु सामुहिक रुपमा आयोजना गर्ने गरिन्छ । हालै मात्रै ड्यालसको युलेशमा श्रीमद् देबी भागवत महायज्ञमा सिंगो नेपाली समाज व्यस्त रहेकाले नयाँ बर्षको बनभोज कार्यक्रम केही समय पर पारिएको नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालले बताए । बनभोज कार्यक्रममा करिब १ सय ५० बढी स्वयंसेवक परिचालन गरि कार्यक्रमलाई व्यवस्थित गर्न हदै सम्मको प्रयास गरिएको र आगामी दिनमा नेपाली समुदायको सुझावको आधारमा कार्यक्रमलाई थप सुधार गर्दै लगिने महासचिब भुसालले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बनभोज कार्यक्रममा सहभागि नेपाली समुदायलाई स्वागत गर्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले टेक्सासमा नेपाली समुदायको बाक्लो बसोबास हुँदै गएकाले नेपाली भाषा, कला सँस्कृतिको सँरक्षण तथा सम्बद्र्धनमा जोड दिनु पर्ने आबश्यकता औंल्याए । हामीले प्रवासमा नेपाली समुदायको बृहत सहभागितामा नेपाली भाषा, कला, सँस्कृतिको जगेर्ना गर्दै मिनि नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुन अध्यक्ष वाग्लेले नेपाली समुदायलाई आह्वान गर्नु भयो ।
कार्यक्रममा खासगरि ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका अगुवाहरु, पत्रकारहरु तथा नेपाली समुदायहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

News Source –घण्टेश्वर अनलाईन