आदरणीय टेक्ससबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
टेक्ससको ड्यालसमा नेपाल सरकारको महाबाणिज्य दूतावास कार्यालय स्थापनाको लागि औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी सहर्ष गराउन चाहन्छौं। नेपाल सरकारका सहसचिव तथा ड्यालसका लागि महाबाणिज्यदूत श्री सुरेश अधिकारी र उपसचिव तथा उप-महाबाणिज्यदूत श्रीमती धना जोशी टेक्ससको ड्यालसमा आइपुग्नुभएको छ। दुवै जनालाई नेपाली समुदायको तर्फबाट नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा स्वागत गरिएको छ।
टेक्ससको ड्यालसमा नेपाली समुदायको बसोबास दिनप्रतिदिन बाक्लिँदै गएको सन्दर्भमा नेपाल सरकारको दूतावास सेवा आवश्यक भएको कुरा विगत लामो समयदेखि महसुस हुँदै आएको थियो। ड्यालसमा महाबाणिज्य दूतावासको कार्यालय स्थापनाका लागि नेपाली समाज टेक्ससले निरन्तर अगुवाइ गर्दै आएको कुरा आम टेक्ससबासी नेपाली समुदायलाई विदितै छ। यस अवधिमा नेपाली समाज टेक्ससको पहलमा नेपाल सरकारका विभिन्न तहमा ध्यानाकर्षण गराउने कार्यसमेत गरिएको थियो।
महाबाणिज्य दूतावास कार्यालय स्थापनाका लागि नेपाली समाज टेक्ससको पहलमा साथ दिँदै सक्रिय भूमिका निर्वाह गर्ने टेक्ससका नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेप्लिज एशोसिएसन अफ ह्युस्टन, ग्रेटर अस्टिन नेपाली समाज, गैरआवासीय नेपाली संघ, पानस अमेरिका, प्रवासी नेपाली एकता मञ्च, जनप्रगतिशील मञ्च, सुदूरपश्चिम नेपाली समाज लगायतका सम्पूर्ण सामाजिक संघ संस्थाहरूप्रति धन्यवाद ज्ञापन गर्दछौं।
टेक्ससको ड्यालसका लागि नियुक्त हुनुभएका महाबाणिज्यदूत श्री सुरेश अधिकारीले आजको स्वागत तथा सम्मान कार्यक्रममा दिनुभएको जानकारी अनुसार महाबाणिज्य दूतावास कार्यालयले टेक्सससहित वरपरका आठ वटा राज्यका नेपाली समुदायलाई सेवा प्रदान गर्नेछ। कार्यालय स्थापना हुने स्थान टुंगो लागेपछि अमेरिकी सरकारलाई जानकारी गराइनेछ, र त्यसपछिको स्वीकृति प्राप्त भएपछि कार्यालय व्यवस्थापन र सेवा संचालन महाबाणिज्यदुतको कार्यालयले शुरू गर्नेछ ।
ड्यालसमा महाबाणिज्य दूतावास कार्यालय स्थापना भएपछि नेपाली समुदायको सहभागितामा भव्य रूपमा उद्घाटन गरिने जानकारी गराउन चाहन्छौं। साथै, दूतावासबाट प्रदान गरिने सेवा तथा सुविधालाई गुणस्तरीय बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता नेपाली समुदायको तर्फबाट व्यक्त गर्दछौं।