नेपाली समाजद्वारा आपतकालिन कोष स्थापना
टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससले आपतकालिन राहत कोष स्थापना गरेको छ ।
बिभिन्न घटना, दुर्घटनामा निधन, घाइते हुनेहरुको राहत र उपचार आवश्यक पर्दा सहयोग गर्ने उद्वेश्यले उक्त राहत कोष स्थापना भएको हो । आइतबार राहत कोष सुरु गर्नका लागि डेभलपमेन्ट एण्ड पिस इन्टरनेसनलले सातहजार डलर समाजलाई हस्तान्तरण गरेको छ । संस्थाका तर्फबाट बैकुण्ठराज आचार्य, दिपक खरेल र दिलिप ज्ञवालीले सातहजार डलरको चेक हस्तान्तरण गरेका छन् ।
उक्त रकममा शत प्रतिशत रकम नेपाली समाज टेक्ससले थप गरेर कोषमा राख्ने अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिए ।
‘यो कोषका लागि जस्ले जति रकम सहयोग गर्नुहुन्छ त्यति रकम नेपाली समाज टेक्ससले म्याच गरेर कोषमा राख्नेछ र आपत परेका समुदायका सदस्यहरुलाई प्रदान गर्नेछ’ अध्यक्ष वाग्लेले भने ।
अमेरिकामा ५० वटा राज्यहरु मध्य सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको राज्य टेक्सस हो । नेपालीको संख्या बढेसँगै घटना, दुर्घटना बढ्दै गएको र समस्यामा परेको विद्यार्थीहरु पनि दिनानु दिन थपिँदै गएकोले कोषको महत्व र सान्दर्भिकता झनै बढेको वाग्लेले बताए ।
उक्त कोष स्थापना र परिचालनका लागि समाजसेवीहरु निरज श्रेष्ठ, नेपाली समाजका महासचिव विजय भुसाल, बैकुण्ठराज आचार्य, अच्युत थापा, शिव काफ्ले, दीपक खरेल, डा. शेखर पण्डित, प्रदीप पौडेल, नारायण क्षेत्री रहेको समिति समेत गठन भएको छ ।
News Source: हिमालयखवर