सान फ्रान्सिस्कोले जित्यो ‘एनएसटी कप भलिवल’ उपाधि
नेपाली खबरीलाल
ड्यालस, टेक्सस
टेक्ससको प्रमुख सहर ड्यालसमा पहिलोपटक आयोजना गरिएको अन्तरराज्यीय स्तरको ‘एनएसटी कप भलिवल प्रतियोगिता’को उपाधि क्यालिफोर्नियाको सान फ्रान्सिस्को टिमले जितेको छ।
नेपाली समाज टेक्ससको आयोजनामा ग्रान्डपेरीस्थित ईमेज भलिवल कोर्टमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा सान फ्रान्सिस्को टिमले न्यूयोर्कस्थित रिजउड नेपाली समाजलाई सोझो सेटमा ३–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
प्रतियोगितामा रिजउड नेपाली समाज न्यूयोर्क दोस्रो स्थानमा रहँदा, अस्टिनको रुकुम वेस्ट टिम तेस्रो भएको थियो।
अमेरिकाका विभिन्न राज्यबाट सहभागी १६ टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको समापन समारोहमा प्रथम हुने टिमलाई ८ हजार, दोस्रो टिमलाई ५ हजार र तेस्रो हुने टिमलाई ३ हजार अमेरिकी डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
समापन समारोह नेपाली समाज टेक्ससका महासचिव विजय भुसालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा समाजका अध्यक्ष राजेन्द्र वाग्लेले विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै खेलकुदको माध्यमबाट प्रवासमा सभ्य समाज निर्माण गर्न नेपाली समाज टेक्सस सक्रिय रूपमा लागिरहेको बताए।
अध्यक्ष वाग्लेले समाजले कार्यसमितिका एक सदस्यलाई खेलकुद संयोजकको जिम्मेवारी दिई छुट्टै विभाग गठन गरेको जानकारी दिँदै, समाजले स्थानीयस्तरमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्दै आएको र अन्य कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरे।
उनले पहिलोपटक आयोजना गरिएको अन्तरराज्यीय ‘एनएसटी कप भलिवल प्रतियोगिता’लाई मित्रवत्, प्रतिस्पर्धात्मक र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। साथै, सरोकारवालाहरूको सुझावका आधारमा आगामी वर्षमा प्रतियोगितालाई निरन्तरता दिने तयारीसमेत रहेको जानकारी दिए।
News Source: नेपाली खबरीलाल